९७७-१-४२११६७३ / ९७७-१-४२११८७३ info@moud.gov.np

माननीय सहरी विकास मन्त्री श्री प्रभु साहज्युको नेतृत्वमा सांसदहरु समेत संलग्न टोलीबाट रौतहट र सर्लाही जिल्लाका बाढीग्रस्त क्षेत्रको स्थलगत भ्रमण गरी तत्काल राहत दिन र अस्थायी आवासको व्यवस्था मिलाउन आवश्यक निर्देशन भएको सम्बन्धी
प्रेस विज्ञप्ती
माननीय सहरी विकास मन्त्री श्री प्रभु साहले बाढीपीडितहरुका लागि सरकारी र वाह्य सहयोग उपलब्ध गराउने प्रकिया भइरहँदा स्थानीय जनता र समुदायको पहलमा घरबार विहिन पीडितहरुलाई बचाइराख्नु असाध्यै सराहनीय भएको बताउनुभएको छ । सरकारको तर्फबाट रौतहट र सर्लाही जिल्लाहरुमा अनुगमनका क्रममा माननीय मन्त्री प्रभु साहज्यूले सोमबार स्थलगत अवलोकन भ्रमणका क्रममा यस्तो बताउनुभएको हो । मन्त्री साह नेपाली काँग्रेस र नेकपा एमालेका सांसदहरु समेत संलग्न टोलीको नेतृत्व गर्दै सोमबार रौतहट र सर्लाही जिल्लाहरुमा पुग्नुभएको हो ।

बाढीले जनताको बिचल्ली भइरहेको अवस्थामा सरकारको तर्फबाट आवश्यक पहल गर्ने प्रक्रिया शुरु भइरहेकोमा मन्त्री साहले पीडित स्वयंले एक अर्कालाई गरेको सहयोग गौरवपूर्ण रहेको बताउनुभयो । पीडितहरुले एक अर्कालाई गरेको सहयोगको सराहना गर्नुहुँदै माननीय मन्त्री साहले भन्नुभयो– “ आफ्नो घर पूरै डुबिरहेको छ, तैपनि अर्काेलाई सहयोग गरिरहनु भएको छ, यो धेरै सराहनीय कार्य हो ।” उहाँले सिधै राहत उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारीलाई मन्त्रीपरिषद्ले अधिकार दिइसकेकाले स्थानीय बजारबाट आपूर्ति गरी तुरुन्तै राहतको व्यवस्था मिलाउन निर्देशन दिनुभयो ।

“बाढी र डुबानका कारण पूरै तराइ प्रभावित भएको छ । त्यसमा पनि रौतहटको स्थिति अझै भयावह छ ।” मन्त्री साहको भनाइ रहेको थियो । वहाँले स्थानीय सरकारी अधिकारीलाई भौतिक पूर्वाधारको स्थिति खासगरी नदी कटान र सडक यातायातलाई विशेष ध्यानमा राखेर कार्य अगाडि बढाउन निर्देशन दिनुभयो ।
बाढी प्रभावित क्षेत्रको स्थिति बुझ्न र राहत वितरणलाई थप प्रभावकारी बनाउने उद्देश्यले आफू आएको बताउनु हुँदै उहाँले सरकारले तत्काल पीडितहरुलाई उद्धार , राहत र सुरक्षित आवासको व्यवस्था गर्ने र क्षतिको यकिन विवरण प्राप्त भएपछि त्यसको विशेष सम्बोधन हुने वहाँको भनाइ रहेको थियो ।
यसैबीच, मन्त्री प्रभु साहले बाढी प्रभावित क्षेत्रका बासिन्दाको लागि तत्काल अस्थायी आवासको व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ । प्रभावित क्षेत्रबाट उद्धार गरिएका बाढीपीडित स्थानीय बासिन्दालाई सुरक्षित हुने गरी अस्थायी आवासको व्यवस्था मिलाउन उहाँले निर्देशन दिनुभएको हो ।
“सबै डिभिजन कार्यालय उच्च सतर्कतामा बस्नुहोस्, बिदामा बसेको सबै कर्मचारी तुरुन्तै कार्यक्षेत्रका जानुहोस,” उहाँले मन्त्रालय मातहतका कर्मचारीहरुको भेलालाई सम्बोधन गर्नु हुँदै आवाससंग सम्बन्धित महाशाखाले आवासको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्था र निकायको एकीकृत कार्ययोजना बनाएर तुरुन्तै काम थाल्न निर्देशन दिनुभयो ।

बाढीपीडित बासिन्दालाई आवासको प्रबन्ध गर्नु पहिलो आवश्यकता भएको उल्लेख गर्दै वहाँले घर आँगनमा पानी नै पानी भएकाले तत्काल उद्धार गरेर कहाँ बसाउने हो, त्यसको अध्ययन गरी तुरुन्तै व्यवस्थापन मिलाउनुपर्ने आवश्यकता औंल्याउनु भयो । वहाँले पहिलो प्राथमिकता ओतविहिन पीडित बासिन्दाका लागि तुरुन्तै सुरक्षित ओत लाग्ने ठाउँको प्रबन्ध गर्नु, दोस्रो अस्थायी रुपमा सुरक्षित आवासको व्यवस्था र तेस्रो चरणमा स्थायी आवासको दीर्घकालीन योजना बनाएर जान दिशानिर्देश गर्नुभयो ।
प्राकृतिक ठूलो विपत्तिको व्यवस्थापनमा पनि ठूलै रुपमा सोच्नुपर्ने बताउँदै उहाँले सूचना संकलन, घटनाक्रम हेरी मौसमविद्संगको सहकार्यमा एकीकृत कार्ययोजना बनाएर खट्नुपर्ने बताउनुभयो । विपत्तिको समयमा प्रक्रियामुखी कामभन्दा पनि परिणाममुखी भावले सरकारी स्तरबाट पीडितको उचित व्यवस्थापनका लागि कुनै पनि कसर बाँकी नराख्न उहाँले कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

डा. रमेश प्रसाद सिंह
प्रवक्ता