बाहिरी चक्रपथ निर्माणको घोषणा तथा नयाँ नगरहरुको भौतिक विकास योजना कार्यान्वयन बारे जारी गरिएको प्रेस विज्ञप्ति
सहरी विकास मन्त्रालयले काठमाडौं उपत्यकालाई जोडदै व्यवस्थित सहरीकरण गर्ने वृहत् लक्ष्य राखेर बाहिरी चक्रपथ निर्माणको थालनीलाई अन्तिम रुप दिइसकेको छ । १३ वर्षदेखि अनिर्णयको अवस्थामा थन्किरहेको कुल लम्बाई ७१.९३ कि.मि.हुने यस चक्रपथको निर्माणका लागि मा. सहरी विकास मन्त्री श्री अर्जुननरसिंह के.सी.ज्यूको विशेष प्रयासमा सबै अड्चन र कठिनाईलाई चिर्दै मन्त्रालयबाट २०७४ बैशाख १३ गते सम्पूर्ण निर्णय प्रक्रियालाई पूर्ण रुप दिइसक्नु भएको छ । आउँदो आर्थिक वर्षदेखि यो चक्रपथ निर्माणको प्रथम चरणका रुपमा चोभार, गाम्चा र सतुङ्गल खण्डको ६.६ किलोमिटरमा निर्माण शुरु हुनेछ । प्रथम चरणको निर्माण खण्डमा पर्ने उक्त स्थानमा करिब ८ हजार रोपनी क्षेत्रफल र करिब १४ हजार जग्गाधनि रहेका छन् । चक्रपथको कुल लम्बाई मध्ये काठमाडौँमा ३५.०८ किलोमिटर, ललितपुरमा १५.८० कि.मि. र भक्तपुरमा २१.०५ कि.मि. हुनेछ।
नौ महिना अघि सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि उहाँले कर्मचारी संयन्त्रलाई दिनुभएको २५ बुँदे निर्देशन र प्राथमिकतामा परेको यो चक्रपथ निर्माणको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) पनि परिमार्जन सहित तयार भइसकेको छ । नेपालमा सहरीकरण र गाउँबाट सहरमा बसाईँ–सराई भई आउने जनताको ओइरोलाई राम्ररी बुझेका मन्त्री के.सी.ले, “व्यवस्थित सहरीकरण र सुन्दर उपत्यकाको निर्माणको लागि जरुरी रहेकोे बाहिरी चक्रपथ निर्माण प्रक्रियालाई तिब्र गति दिएको” बताउनु भयो । संघीय राजधानीको रुप लिन थालेको काठमाडौँ उपत्यकाका तीनवटै पुराना सहर र अन्य नवघोषित नगरपालिकाहरूलाई एउटै सडक सन्जालको माध्यमबाट आपसमा जोडेर व्यवस्थित सहरीकरण गर्ने दीर्घकालीन सोच अनुरुप तयार भएको यो चक्रपथ आयोजना जग्गा विकास (ल्यान्ड पुलिङ) प्रविधि र प्रक्रिया अपनाएर निर्माण गर्न लागिएको नेपालकै पहिलो सडक हुनेछ ।
Outer ringroad cross section बाहिरी चक्रपथको ५० मिटर अधिकार क्षेत्र सहितको मूल सडकको सम्पूर्ण निर्माण खर्च नेपाल सरकारबाट ब्यहोरिने भएको छ भने ५०० मिटर (दायां बायां २५०–२५० मी. सडकको किनारबाट) चौडा क्षेत्रमा जग्गा एकीकरण (ल्यान्ड पुलिङ्) प्रबिधिद्वारा व्यवस्थित सहरीकरण गरिने छ । ८ लेन सडक सहित साइकल लेन, हरियाली बेल्ट, फूटपाथ तथा आपांग मैत्री पेटीको समेत ब्यबस्था गरिएको छ ।
काठमाडौँको त्रिभुवन राजपथ–बलम्बुलाई शून्य किलोमिटर मानेर शुरु हुने यो चक्रपथको निर्माण पूरा भएपछि नैकाप भञ्ज्याङ, थापागाउँ आसपास, स्युचाटार, सीतापाईला, बाहिरी स्वयम्भु, वनस्थली,बालाजु औद्योगिक क्षेत्रको छेउ तथा बाईपास, गोँगबुँ, हिलेडोल, मनमैँजु, बालुवाटारको छेउ, टोखा–सरस्वती क्षेत्र, चपली, चुनीखेल, टुसाल गाउँ, गोकर्णेश्वर, बामथली, नयाँपाटी हुँदै जानेछ ।
सीतापाइलाबाट हलचोक, गह्रिगाउँ (इचङ्गुनारायण बाहिर), दौडिनेपानी, नेपालटार, फुटुङ्लाई चिर्दै १३ कि.मि. क्षेत्रको टोखा–सरस्वती क्षेत्रमा मिलाउने गरी थप १५ कि.मि.सडक निर्माण गर्ने योजना रहेको अवस्थामा वाहिरी चक्रपथको कुल लम्वाई ८६ किलोमिटर भन्दा बढी हुन जाने देखिन्छ ।
भक्तपुर क्षेत्रमा थली–डाँछी, चाँगुनारायण क्षेत्र, फुयाँलगाउँ, दुवाकोट, रोकागाउँ, हनुमानटार, लुकुण्डोल, पकाउने पाटी, खरीपाटी, सुडाल, यङ्डोल, जगाती (इँटा टायल कारखानाको छेउ), भक्तपुर नगरपालिका, हनुमन्ते खोलाको छेउ, अरनिको राजमार्ग, सृजनानगर, सल्लाघारी, त्रिभुवन विमानस्थलको बाहिरी क्षेत्र, दधीकोट, गाम्चा भएर निर्माण कार्य अगाडि बढाईने छ ।
ललितपुरमा लुभु, विष्णुडोल, हरिसिद्धि, दशघर, धापाखेल, ठेचो, जावलाखेल, बुङ्मती, खोकना, कार्यविनायक, बागमतीपुल (चोभार क्षेत्र), पुरानो सिमेन्ट कारखानाको छेउ, कीर्तिपुर क्षेत्र, गाम्चा, मच्छेगाउँ हुँदै, तीनथानाको दक्षिण हुँदै सतुङ्गलसम्म पुगेर चक्रपथ बनाईने छ ।
साथै आज मिति २०७४।१।१४ गते मा. सहरी विकास मन्त्री श्री अर्जुननरसिंह के.सी.ज्यूको अध्यक्षतामा बसेको काठमाडौं उपत्यका विकास प्राधिकरणको भौतिक विकास समितिको बोर्ड वैठकमा सहरी विकास मन्त्रालय, उर्जा मन्त्रालय, भूमिसुधार तथा व्यवस्था मन्त्रालय, तथा सुचना तथा संचार मन्त्रालयका श्रीमान् सचिवज्यू लगायत अर्थ मन्त्रालयका सह सचिव तथा काठमाडौं, ललितपर र भक्तपुर जिल्लाका जिल्ला विकास समितिका स्थानिय विकास अधिकारीहरु र काठमाडौं, ललितपर, भक्तपुर तथा मध्यपुर– ठिमीका कार्यकारी अधिकृतहरु समेतको उपस्थिती रही तपशिल विषयहरुमा छलफल भई निर्णय गरियो ।
१) काठमाडौं उपत्यका भित्र नगरको भौतिक विकास योजनालाई कार्यान्वयन गर्ने सम्वन्धमा काठमाडौं उपत्यका भित्रका चार वटै दिशाहरुमा चार वटा नयां नगरहरु निर्माण गर्नका लागि प्रकृया अन्तिम चरणमा पुगेको हुंदा प्रारुपलाई अन्तिम रुप दिन काठमाडौं उपत्यका विकास प्राधिकरणले विस्तृत अध्ययन कागजात तयार पारी एक हप्ता भित्र अर्को वोर्डको वैठक बस्ने निर्णय गरियो ।
२) नेपाल सरकारवाट काठमाडौं उपत्यका भित्र स्वीकृत जग्गा एकीकरण आयोजनाहरुको विकसीत घडेरी विक्री वितरण तथा सम्वन्धित जग्गाधनीहरुलाई नै फिर्ता गर्दा पारीत गरिने लिखतहरुमा लाग्ने रजिष्ट्रशन दस्तुर पुर्ण रुपमा छुट दिने व्यवस्थाका लागि श्री शहरी विकास मन्त्रालयले श्री भूमी सुधार तथा व्यवस्था मन्त्रालय मार्फत श्री अर्थ मन्त्रालयलाई पत्राचार गर्ने निर्णय गरियो ।
३) काठमाडौं उपत्यका लगायत देश भरीका विभिन्न शहरी क्षेत्रहरुमा इजाजत प्राप्त नगरी जग्गा प्लटिङ्ग भइरहेको कार्यको कडाइकासाथ नियमन गर्ने, मापदण्ड नपुर्याई गरिएका प्लटिग रोक्ने र आवश्यक कारवाही गर्ने समेत निर्णय भयो ।